आयोजना प्रभावितलाई मध्य भोटेकोसीको आईपीओ आजदेखि

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् आयोजनाले परियोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयको लागि मंगलबार (आज)देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्थानीय र सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्य भएको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये आजदेखि आयोजना निमार्णस्थल सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

जसमध्ये पनि आयोजनाबाट प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर–१ र ५, बाह्रबिसे नगरपालिका वडा नम्बर–५, ६, ७ र ८ का स्थानीयको लागि १८ लाख कित्ता छुट्ट्इएको छ भने बाँकी ४२ लाख कित्तामा जिल्लाका अन्य सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

कम्पनीको आईपीओमा सर्वसाधारणले आउँदो जेठ ४ गतेसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ २० सम्म आवेदन दिने समय थप हुनेछ । स्थानीयले न्यूनतम १० देखि बढीमा ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कुल २५ प्रतिशत आईपीओ जारी गर्न लागेको कम्पनीले ९० लाख कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणमा बिक्री गर्नेछ । कम्पनीको आईपीओ निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेकोे छ ।

कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर–एनपी आईपीओ ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । जसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

नेपाल विद्युत् प्राधिकरणको समेत लगानी रहेको चिलिमेको सहायक कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । भूकम्प र कोरानाले गर्दा निमार्णमा ढिलाइ भएको आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *