किन चाहिन्छ शरिरलाई फाइबर ?

काठमाडौ । वनस्पती स्रोतबाट प्राप्त हुने रेसायुक्त पदार्थलाई फाइबर भनिन्छ । अन्नको पुरै भाग (मकै, गहुँ, जौ, फापर, कोदो), गेडागुडी (चना, केराउ, मस्याङ), सागपात, फलफूल आदिमा फाइबर प्रशस्त मात्रामा पाइन्छ । साधारतया फाइबरले पाचनक्रियालाई स्वस्थ राख्न मद्धत गर्छ । यो कार्बोहाइड्रेटको एक प्रकार हो र यो पोलिस्याकराइड अन्तर्गत पर्छ । फाइबरले शक्ति दिँदैन ।

किनकि पाचनक्रिया भइसकेपछि पनि खानामा रहेको फाइबरचाँहि नपचेर दिसाको रुपमा परिणत हुन्छ । दिसामा खस्रो पदार्थ बढी हुने भएकाले आन्द्राको यताउति नअड्की सजिलैसँग बाहिर निस्कन्छ, अर्थात फाइबर भएको खानाले कब्जियत हुनबाट बचाउँछ ।

यदि फाइबर भएको खाद्यवस्तुसँगै चिल्लो र प्रोटिन पनि रहेको छ भने फाइबरले यी पौष्टिक तत्वहरुको पाचनसमेत कम गराउँछ । जब थोरै चिल्लो र प्रोटिनको पाचन हुन्छ तब रगतमा पनि यी तत्वहरुको मात्रा कम हुन्छ । पाचन नभएको बाँकी भाग शरीरबाट काम नलाग्ने पदार्थ अर्थात दिसा पिसाबको रुपमा बाहिर फ्याँकिन्छ ।

fiber rich food

यसैगरी पानीमा नघोलिने फाइबर जस्तै अन्न, सागपात, फलफुल (बोक्रासमेत खानहुने फलफुल)मा पाइने फाइबरले पाचनअंगलाई गतिशील गराई त्यस ठाँउबाट खानालाई छिट्टै पास गराउँछ । यस किसिमको फाइबरले केही केही प्रकारको क्यान्सरको खतरा विशेषतः ठूलो आन्द्राको क्यान्सरलाई कम गर्छ । कोदो, फापर, सुकेको गेडागुडी, कोसा, फलफूल, सागपात आदिमा पाइने पानीमा घोलिने फाइबरले पेटमा खानाको शोषण क्रियालाई कम गर्छ तर पेट भरेको भान गराउँछ ।

यसले रगतमा कोलेस्टेरोल कम गर्न र रगतमा चिनीको मात्रालाई पनि सन्तुलित राख्न मद्दत गर्छ । त्यसकारण मधुमेह भएका व्यक्तिहरुको लागि पानीमा घोलिने फाइबर बढी उपयुक्त हुन्छ । केही खाद्यवस्तुहरु जस्तै स्याउ, केरामा दुवै प्रकारका फाइबर हुनछन् ।

प्रशस्त फाइबर भएको खाद्यवस्तुको उचित छनोट गरी मिलाएर बनाएको सलाद फाइबरको राम्रो स्रोत मानिन्छ । साधारणतया काँचै खान हुने फलफूल, सागपात, केही उमाल्न पर्ने खाद्यवस्तुहरु जस्तै केराउ, सिमी, चना आदिको मिश्रणबाट सलाद तयार गरिन्छ । एक साधारण व्यक्तिको दैनिक भोजनमा करिब ३० ग्राम फाइबरको आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *