जनकपुरमा ओली समूहको प्रदर्शन, बालअधिकारको उल्लंघन गर्दै बालबालिकाको प्रयोग

जनकपुरधाम । प्रचण्ड माधव समूहको विशाल र्‍याली निकालेको केही दिनमै ओली समूहले प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेपछि जनकपुरधाममा ओली समूहका कार्यकर्ताले ओलीको कदम बचाउ गर्दै पहिलो पटक शक्ति प्रदर्शन गरेका हुन् ।

धनुषाको विभिन्न स्थानीय तहबाट बस तथा ट्रयाक्टरमा आएका कार्यकर्ताहरु जनकपुरधामस्थित रेल्वे स्टेशनमा जम्मा भइ र्‍याली निकालिएको थियो । रेल्वे स्टेशनबाट निस्केको र्‍यालीले जनकपुर नगरको विभिन्न भागको परिक्रमा गरी प्रदेश पार्टी कार्यालय पुगी कोणसभामा परिणत भएको थियो ।

भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल, शहरी विकास मन्त्री प्रभु साह, कानून मन्त्री लिलानाथ श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री जुली महासेठ लगायत वक्ताहरुले ओलीको बचाउ गर्दै बोलेका थिए ।

ओली समूहको प्रदर्शनमा ठूलो संख्यामा बालबालिकाहरु समेत सहभागी भएको पाइएको थियो । जुलुसमा थुप्रै बालबालिकाहरुले नेकपाको झण्डा र सूर्य चुनाव चिन्ह अंकित झण्डा बोकेर नारा लगाइरहेका थिए ।

जुलुसमा १० देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरु पनि नेकपाको पक्षमा नारा लगाउँदै र्‍यालीमा सहभागी थिए । यसरी राजनीतिक विरोध वा प्रदर्शनमा बालबालिकालाई प्रयोग गर्नु बालअधिकारको उल्लंघन गरेको ठहरिन्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *