पर्याप्त जलाशयका कारण पोखरा र आसपासका क्षेत्र चराचुरुङ्गीको रोजाइमा

गण्डकी पोखरा र आसपासका क्षेत्र। पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् ।

पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहितका विभिन्न जलसम्पदाले गण्डकी प्रदेशकै गरिमा र महत्व बढाएको छ ।

पर्याप्त जलाशयका कारण पोखरा र आसपासका क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्ने गरेका छन् । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम वर्षेनी बढ्दै गएको छ । नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेका छन् । पोखरा आसपासमा विभिन्न प्रजातिका चरा पाइने भएकोले यो चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक गन्तव्य भएको यस क्षेत्रका अनुसन्धाता बताउँछन् ।

विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट पोखराका तालतलैयामा हिउँदे चरा आउने गरेका छन् । पोखराको फेवासहित यहाँका बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालमा प्रत्येक वर्ष पाहुना चरा आउने गरेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । पछिल्ला वर्षमा पाहुना चराको सङ्ख्या भने घट्दै गएको उनले बताए । सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन् गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवं सिमसारमा हुने गरेको अतिक्रमणका कारण सङ्कटमा परेको उनले बताए । 

हिउँद शुरु भएसँगै चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम, कागबेनी हुँदै छिर्ने कर्याङकुरुङ पछिल्ला वर्षमा कम देख्न थालिएको छ । ठूला ठूला झुण्डमा आउने कर्याङकुरुङ पोखराहुँदै काली गण्डकी उपत्यका पार गर्दै भारतको राजस्थान लगायतका स्थानमा पुग्ने गरेको घिमिरेले जानकारी दिए ।

pokhara

पोखरा र आसपासमा कर्याङकुरुङ आउँदा र फर्कदा उनीहरूको झुण्डलाई हेर्दै लहरे बाली लगाउने हो भने त्यसले राम्रो उत्पादन दिने जनविश्वास अझै पनि कायमै छ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ३ स्थित देवपूजे ढुङ्गालाई प्रत्येक वर्ष कर्याङकुरुङ आउँदा र जाँदा अनिवार्य घुमेर जाने गरेको त्यहाँका स्थानीयवासी बताउँछन् ।

पोखरासहित समग्र गण्डकी प्रदेश चरा पर्यटनका लागि आकर्षक गन्तव्य रहेको पत्रकार कृष्णमणि बरालले बताए । विशेष गरी जलाधार क्षेत्र चराहरू रमाउने स्थल भए पनि पछिल्ला वर्षमा बढ्दो मानवीय अतिक्रमणले चराको वासस्थान सङ्कटमा पर्दै गएको उनले बताए । झण्डै एक दशक अघिसम्म मङ्सिर लाग्नासाथ पोखरा क्षेत्रका तालमा चराको चहलपहल बढ्ने गरेकामा पछिल्ला वर्षमा भने त्यो क्रम कम हुँदै गएको उनले बताए । विगतमा खोला किनारा र अन्य जलाशय क्षेत्रमा पाइने चरा पनि अहिले पाउन छोडिएको उनको भनाई छ ।

कास्कीको दक्षिणभेगस्थित सुरौदी खोलाको किनारामा एक दशकअघिसम्म ठूलै सङ्ख्यामा हुटिट्याउँ पाउने गरिएकोमा पछिल्ला वर्षमा देख्न छाडिएको छ । सुरौदी जलाधार क्षेत्रमा अन्य विभिन्न प्रजातिका चरा पनि कम हुँदै गएको स्थानीयवासीले बताए । पोखराका तालतलैया, फेवाताल किनारस्थित कोमागाने पार्क, वसुन्धरा पार्क, फेवातालपारिको रानीवन आदि पर्याप्त चरा पाइने स्थान हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *