Loading...
समचार

मध्य भोटेकोशिको बाँध एक वर्ष नबित्दै भत्कियो

mid bhotekoshi

सिन्धुपाल्चोक,  कमजोर गुणस्तरका कारण १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बाँध निर्माण पूरा गरेको एक वर्ष नपुग्दै भत्किएको छ ।
भोटेकोसी कम्पनीका कर्मचारी, परामर्शदाता र ठेकेदारको मिलेमतोमा संरचना टालटुल पारेर दुरुस्त बनाउन खोजे पनि बाँधको स्पिल–वे (पानी बग्ने भाग) भत्केको घटना सार्वजनिक भएको हो । लकडाउनकै बीच गत चैत–वैशाखमा बाँधको निर्माण गरिएकामा अहिले संरचनाको ठाउँ–ठाउँमा भ्वाङ परेको छ भने ढलानभित्र राखिएका फलामका रड बाहिर निस्केका छन् ।

भोटेकोसीको पानीलाई डाइभर्सन टनेलबाट अर्को बाटो पठाएपछि गत साता स्पिल–वे भत्किएको दृश्य सार्वजनिक भएको थियो । बाँध निर्माणसम्बन्धी विद्युत् प्राधिकरणका विज्ञहरू भन्छन्, ‘स्पिल–वेको संरचना बनाएको एक वर्ष नपुग्दै भत्किनु गुणस्तरमाथिकै प्रश्न हो । बाँध नै कमजोर भएपछि आयोजनाको हालत के होला?’ आयोजनाका एक पूर्वसीईओले आयोजनाको गुणस्तर राम्रोसँग जाँच्ने हो भने धेरै समस्या भेटिने बताए । बाँधमा पानी निकासका लागि बनाइएको एक प्रकारको संरचना स्पिल–वे हो । ‘यसमा पानी, ढुंगा र बालुवाको बढी नै प्रेसर पर्छ,’ भोटेकोसी कम्पनीका सीईओ सुभास मिश्रले भने, ‘बेलाबेलामा मर्मत गर्नुपर्ने नै हुन्छ ।’

चिलिमे जलविद्युत् कम्पनीको मोडेलमा सात वर्षअघि सिन्धुपाल्चोकमा सुरु भएको उक्त आयोजनाका लागि आठ अर्बभन्दा बढी खर्च भइसकेको छ । आयोजनाको संरचना निर्माणका क्रममा रड, सिमेन्ट, गिट्टी, बालुवा, रसायन पदार्थलगायतका वस्तुको प्रयोग घटाएर गुणस्तर कमजोर बनाएबापत करोडौं खर्च गर्ने ठेकेदारको प्रस्तावसहितको अडियो रेकर्ड एक महिनाअघि सार्वजनिक भएको थियो । उक्त रेकर्डमा बाँध निर्माणका क्रममा गुणस्तरहीन र कम परिमाण सामग्री प्रयोग गर्ने विषयमा पनि छलफल भएको छ । रेकर्डअनुसार भोटेकोसी कम्पनीका तत्कालीन सीईओ मणिकुमार काफ्ले, चिनियाँ ठेकेदार कम्पनीका दोभासे गोविन्द पौडेल र आयोजनाका प्राविधिकबीच भएको रकम लेनदेनसम्बन्धी कुराकानी सुन्न सकिन्छ ।

दोभासे पौडेलले काफ्लेलाई आफूले भनेअनुसार काम गरेमा दुई करोडसम्म उपलब्ध गराउने प्रस्ताव गरेका छन् । ठेकेदार, परामर्शदाता र काफ्लेले गरेको कुराकानीको रेकर्डमा आफूहरूको योजनामा आयोजनाका तत्कालीन प्रमुख सुनीलकुमार लामा बाधक भएको विवरण पटक–पटक बताइएको छ । लामालाई कोड भाषामा ‘हेलमेट’ नाम राखिएको छ । लामा सात वर्षदेखि आयोजनामा कार्यरत थिए । हेलमेटको अर्थ काममा बाधा पुर्‍याउने वा छेक्ने अर्थ लगाइएको छ ।

अडियो रेकर्डमा सीईओ काफ्लेले पनि पटक–पटक हेलमेड भन्दै लामा गलत भएको बताइरहेको सुन्न सकिन्छ । तत्कालीन प्रमुख लामाले निर्माण संरचनाको गुणस्तर कमजोर भएको लिखित विवरण यसअघि पटक–पटक भोटेकोसी कम्पनीलाई दिए पनि बेवास्ता गरिएको बताउँदै आएका छन् । उनले अडियो रेकर्ड पनि ६ महिनाअघि नै सञ्चालक समितिलाई उपलब्ध गराएका थिए । तर कारबाही नभएपछि स्थानीय सरोकार समितिले सार्वजनिक गरेको हो । आयोजनाको विषयमा छानबिन गर्नुको साटो सञ्चालक समितिले तत्कालीन सीईओ काफ्ले र आयोजना प्रमुख लामालाई जागिरबाटै हटाएको छ । कारबाही स्वरूप आयोजना प्रमुखबाट हटाउने निर्णयको लिखित जानकारी तीन साताअघि नै लामालाई दिइएको छ ।

लामाले जसले अनियमितता छानबिनको माग गर्‍यो, समितिले उसैलाई हटाउने निर्णय गरेको बताए । ‘मैले गल्ती गरेको भए छानबिन हुनुपर्छ,’ उनले भने, ‘बिनाकारण नवीकरण नगरिने निर्णय गरेकामा आफूलाई अचम्म लागेको छ ।’ लामाले कामको गुणस्तर नभएको भन्दै ठेकेदारलाई दिने भुक्तानीका सम्बन्धमा प्रश्न उठाउँदै आएका थिए । आयोजना प्रभावित क्षेत्र बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पा जसले कारबाहीको माग गर्‍यो, उसैलाई हटाउनु गलत भएको बताउँछन् । ‘यो निर्णयले सञ्चालक समितिमाथि नै प्रश्न खडा भएको छ,’ उनले भने ।

समितिले लामाको स्थानमा भोटेकोसीमै कार्यरत निर्माण सूर्यनाथ भुर्त्याललाई आयोजनाको निमित्त प्रमुख बनाएको छ । सीईओ काफ्ले र पौडेलले अडियो रेकर्डमा भुर्त्याल आफ्नो मान्छे भएको र उनलाई विश्वास गर्न मिल्ने बताएका छन् । काफ्लेलाई हटाएर सीईओमा मिश्रलाई ल्याइएको छ । उनी चिलिमेका पनि सीईओ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *