सिटीसँग चेल्सीको हार 2021

एजेन्सी – खराव समयबाट गुज्रिरहेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग हार बेहोरेको छ ।

चेल्सी घरेलु मैदानमा सिटीसँग ३–० ले पराजित भएको हो । चेल्सीको यो पछिल्लो ६ खेलमा यो चौथो हार हो । एभर्टनसँग पारजित भएको चेल्सी त्यसपछि वल्भ्स र आर्सनलसँग पराजित भएको थियो । वेस्ट ह्याम युनाइटेडमाथि जित निकाल्दा चेल्सीले एस्टन भिल्लासँग बराबरी खेलेको थियो ।

लगातारको हारले चेल्सीको शीर्ष चारको सम्भावना झिनो बन्दै गएको छ । चेल्सी १७ खेलबाट २६ अंक जोडेर आठौं स्थानमा झरेको छ । चेल्सीलाई हराएको सिटी १५ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सी पहिलो हाफमै ३–० ले पछि परेको थियो । १८औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई अघि बढाए । उनले फिल फोडेनको पासमा गोल गरेका थिए ।

२१औं मिनेटमा केभिन डि ब्रुयनको पासमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ३४औं मिनेटमा डि ब्रुयनले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० ले अघि बढाए ।

३–० ले पछि परेको चेल्सीले दोस्रो हाफमा बल पोसेसनमा पकड बनाउदै आक्रमणको प्रयास गरेपनि खेलमा फर्कन सम्भव भएन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कलुम हड्सन ओडोइले गोल गरेपनि उक्त गोल चेल्सीका लागि सान्त्वना गोल बन्यो ।

यस्तै प्रिमियर लिगको अर्को खेलमा लेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि २–१ को जित निकालेको छ । लेस्टरको जितमा जेम्स म्याडिसन र युरी टिलेमान्सले गोल गरे । न्यु क्यासलका एन्डी क्यारोलले एक गोल फर्काए ।

यो जितसँगै लेस्टर १७ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा १९ अंक जोडेर न्युक्यासल १५औं स्थानमा छ । शीर्षस्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेडको समान ३३ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *