हाम्रा लागि गिद्धहरू बाँच्न किन जरूरी छ? गिद्धको शरीर वातावरण बचाउन प्रकृतिको छनोटअनुसार विकास भएको हो !

सानो छँदा ठूलावडाहरूबाट गिद्धबारे सुनेको थिएँ- मरेका वस्तुभाउको सिनो खान्छन्। खोला-नाला वरिपरि बथानमा बस्छन्। हेर्दै घिनलाग्दा हुन्छन्।

यी सबै सुन्दा मेरो मनमा गिद्धको तस्बिर उति साह्रो राम्रो बसेको थिएन। फोहोरी चराजस्तो लाग्थ्यो। त्यसै पनि समाजमा गिद्ध बदनाम छ। कसैलाई गाली गर्नपरे ‘कस्तो गिद्धजस्तो’ भनेको धेरैपटक सुनेकै हो।

सानैदेखि गिद्धबारे मेरो दिमागमा गढेको धारणा फेरिन धेरै समय लाग्यो। जब म प्राणीशास्त्र पढ्न थालेँ, तब थाहा पाएँ, मान्छेको समाजमा बदनाम गिद्ध हाम्रो पर्यावरणका लागि नभइ नहुने पंक्षी हो।

म, हामी मान्छेकै जीवनमा यसको महत्व बुझेपछि मैले गिद्धलाई माया गर्न थालेँ। कतै देखेँ भने उत्साहित पनि हुन्छु।

तर यही पंक्षीबारे केही समयअघि एउटा चित्त दुख्ने समाचार पढ्नुपर्‍यो। नवलपरासीमा झन्डै ७० वटा गिद्ध एकैपटक मारिएछन्। विष खुवाइ मारेर फालिएका कुकुरको सिनो खाएर ती गिद्धको मृत्यु भएको रहेछ।

यतिका धेरै गिद्ध मारिनु हाम्रा लागि एकदमै दुखद हो। उसै त गिद्ध एकदमै लोपोन्मुख प्रजातिमा पर्छ। यिनको संरक्षणमा जोडतोड साथ काम हुनुपर्ने अवस्था भएका बेला हामीले ठूलो संख्यामा गुमायौं।

गिद्ध सिकारी चरा, अर्थात् ‘र्‍याप्टर’ हुन्। यिनीहरू आहारका लागि मरेको जनावार वा तिनका सिनोमा निर्भर हुन्छन्। यिनको यही गुण हाम्रो वातावरणका लागि फाइदाजनक छ। सिनो वा मरेका जनावरले वातावरण दुर्गन्धित वा फोहोर बनाउनुअघि नै गिद्धले सिनित्त पारिदिन्छन्।

मान्छेको काम सजिलो पारिदिने, स्वास्थ्यमा खराबी हुने जोखिम पनि कम गरिदिने, गुणकारी गिद्ध। हामीमध्ये धेरैलाई जिज्ञासा हुनसक्छ, गिद्धले त्यस्तो फोहोर मासु कसरी पचाउन सक्छ होला?

यसमा उनीहरूको पेटमा हुने अम्लीय रसको भूमिका मुख्य हुन्छ। त्यो अम्लीय रस निकै कडा भएकाले जस्तोसुकै फोहोर सिनो पनि सजिलै पचाइदिन्छ।

मरेका जनावरमा पर्ने कीरा वा जनावरमै भएको रोग समेत पानीमार्फत मानिसमा सर्न सक्छ। तर गिद्धले त्यस्तै कुरा खान्छन्, सजिलै पचाउँछन्। उनीहरूलाई प्रकृतिले नै वातावरण सफा तथा सन्तुलित बनाउने गुण दिएको छ।

गिद्ध देख्दा धेरैलाई मननपर्ने यसको टाउको र घाँटीको स्वरूपले पनि हो। धेरैजसो गिद्धको टाउको वा घाटीमा प्वाँख वा रौं हुँदैन। कसैले भुत्ल्याइदिएको जस्तो देखिन्छ। टाउको-घाँटीमा खुला छाला प्रस्टै देखिने भएकाले यसको स्वरूप अरू चराभन्दा बेग्लै देखिन्छ।

खासमा गिद्धको टाउको वा घाँटी खुइलिनुमा सिनोमा हुने ब्याक्टेरियाको भूमिका हुन्छ। वा भनौं ती ब्याक्टेरियाबाट गिद्धका शरीरका अन्य रौं जोगाउन प्रकृतिले नै उसको घाँटी-टाउको नांगो बनाइदिएको हो। मरेका जनावर खाँदा त्यसमा भएका ब्याक्टेरिया रौंमा नसरोस् र त्यहाँबाट वातावरणमा नफैलियोस् भन्ने हिसाबले नै प्वाँखहरू यिनको घाँटीबाट हराएका हुनसक्ने अनुमान पनि छ।

गिद्धको शरीर वातावरण बचाउन प्रकृतिको छनोटअनुसार विकास भएको मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *