भोलिदेखि लकडाउन झनै कडा, अन्य यी जिल्लाहरुमा पनि लकडाउन लागू हुने (सूचीसहित)

काठमाडौँ– दोस्रो लहरको को#रोना संक्रमण बढ्दै गएपछि देशभरका २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । को#रोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने भन्दै सरकारले विभिन्न निषेधका आदेशहरु जारी गरेको हो ।

निषेधका आदेश जारी गरिएका ठाउँमा अत्यावश्यक बाहेकका कामका लागि सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाइएको छ । यस्तै, अत्यावश्यक बाहेकका सवारीका साधनहरु समेत सञ्चालन गर्न पाइने छैन ।

तराईं–मधेस तथा उपत्यकाका जिल्लाहरुमा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने गरी मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेको छ ।

मन्त्रिपरिषदको उक्त निर्णयपछि काठमाडौं उपत्यकाका ३ जिल्लासहित उपत्यका बाहिरका केही जिल्लामा वैशाख १६ गते (बिहीबार)देखि नै निषेधाज्ञा लागू भइसकेको छ । केही जिल्लामा भने शुक्रबार र शनिबार तथा केही जिल्लामा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

गृह मन्त्रालयका अनुसार शनिबार साँझसम्म २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ७ वटाबाहेक अन्य २२ जिल्लामा जिल्लाभर नै निषेधाज्ञा लागू हुने छ । निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ८ जिल्लामा आइतबारदेखि लागू हुनेछ ।

बाँकी ७ जिल्ला मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान र उदयपुर जिल्लामा जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको कास्की जिल्लामा भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

सल्यान, डडेल्धुरा, रुकुम पश्चिम, बाजुरा, उदयपुर, काभ्रे, सल्यान र झापामा भने आइतबारदेखि मात्रै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।

यसै गरि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । को#रोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ ।

शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

उनले भने, ‘आज शनिवार सडकमा गाडी कम छन्, बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएको छ । भोलिदेखि थप कडा गर्ने विचार गरेका छौँ । सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउन लागिरहेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *